Thursday, April 23, 2020

कोरोनाले सिकाएको पाठ र हाम्रो दायित्व

COVID-19 Dairy 4

कोरोनाले सिकाएको पाठ र हाम्रो दायित्व
डा. सुरेश तामाङ

आज सिंगो विश्व र हाम्रो मुलुक नेपाल कोरोना महामारीको विरुद्ध लडिरहेको छ । हालको अवस्थामा कोरोना भाइरसबाट बच्नु हामी सबैको मूल लक्ष्य हो । तर अगामी दिनमा आफु बाँचेर मात्र भएन । यसबाट अति प्रभावित र जोखिममा रहेको समूहका लागि पनि सरकारले केहि ब्यवस्था गर्नुपर्ने देखिन्छ । । हामी आफै पनि थप सजग र जिम्मेवार भने हुनै पर्छ । 

सरकार भने बेमौसमी आयोग र अध्यादेशमा अल्झेको छ । मजदुर र असंगठित क्षेत्रमा काम गर्ने हजारौ श्रमिक र गरिव जनताहरु आक्रान्त छन् । एकातिर उनीहरुको जीवन सहज बनाउन सरकारले सकेसम्म तत्कालै राहत दिन जरुरी छ । आगामी दिनमा पनि के कस्ता नीति र कार्यक्रम लागू गर्ने भन्ने कुरा महत्वपूर्ण हुन सक्छ । आगामी बैसाख १५ पछि लकडाउन अर्थात बन्दाबन्दी फरक स्वरुपमा लम्बिने देखिन्छ । जसमा सार्वजनिक सवारीमा रोक तर नीजिलाई फुक्का गर्ने प्रस्ताव छ । यसो गर्दा फेरि पनि गरिब र निम्न आर्थिक भएकाहरु नै बढि प्रताडित हुने कुरामा दुइ मत छैन किनकि सार्वजनिक यातायात चढ्ने र दैनिक ज्यालादारी गर्ने उनीहरु नै हुन् । नीजि सवारी, नियमित जागिर वा पेशा र ब्यवसाय पनि मध्यम र उच्च बर्गको हातमा नै छन् । फेरी लकडाउन खुल्नासाथ सर्वसाधारणले सुरक्षित महशुस गरी देश भरि एकाएक ठूलो चहलपहल बढेमा संक्रमण फैलिने पनि सम्भावना उतिकै छ । यस कुरामा आमनागरिक र सरकार थप सजग हुनैपर्छ । 

तर जे होस यो महामारीलाई एक मौकाको रुपमा पनि लिएर हामी सबैले पाठ सिक्न सकिन्छ । यहि बेला सरकारले हिजोका बेथितीहरुलाई पनि नियन्त्रण गर्न र सच्याउन सक्छ । जस्तो सवारी नियम पालन गर्ने, सेवा लिन लामबद्ध बस्ने र पालो पर्खिने आदी । यसका लागि राज्य र हरेक नागरिक आफू पनि जिम्मेवार र अनुशासीत हुनुपर्छ तर यस महामारीलाई कमाउने मौकाको रुपमा भने कदापी लिइनु हुदैन । 

नेपाल जस्तो अल्पविकसित देश मात्र होइन आज विकशित र शक्ति सम्पन्न राष्ट्रहरुले समेत कोरोना भाइरसको अगाडी घुँडा टेकेको अवस्था छ । पश्चिमा औषधि विज्ञान र चिकित्साशास्त्रले पनि यो महामारी नियन्त्रण गर्न सकेको छैन । किनकी मानव स्वास्थ्य केवल शरिर र बंशाणुले मात्र नभई समग्र सामाजिक र पर्यावरणीय कारकहरुले प्रभावित गर्दछ । पृथ्वी माथिको चरम दोहन, क्रुर अतिक्रमण, तीव्र शहरीकरण, भूमण्डलीकरण र मानव जीवनशैलीले पनि यो महामारी निम्त्याएको होे भन्ने तर्क अगाडी आएको छ । तसर्थ मानव र पृथ्वी वा प्रकृतिसंगको सम्बन्ध समधुर हुन अत्यन्त आवश्यक छ ।

कोभिड १९ पछिको हाम्रो समाज कस्तो होला

आज सम्पूर्ण विश्व नै कोरोना भाइरसको कारण थलिएको अवस्थामा छ । आज सम्ममा कोभिड १९ का कारणले संसारभरमा २,५६४,१९० मानिसहरु संक्रमित भइसेका छन । यसबाट १७७,४४५ बढिको ज्यान गइसकेको छ भने ६८१,८४२ निको पनि भएका छन् । नेपालमा पनि जम्मा ४७ संक्रमित भएकोमा ७ जना निको भएका छन् । यो क्रम निररन्तर बढिरको छ । यसले विकासित देश मात्र होइन, गरिव र कम विकसित देश पनि प्रभावित भइरहेका छन् । यसको अन्त्य कसरी र कहिले हुने कुरामा शंका कायमै छ । यो झट्ट हेर्दा स्वास्थ्य समस्या जस्तो लागेपनि यसको असरहरु आम समाज र विविध क्षेत्रमा देखिनेछन । मानव स्वास्थ्य र स्वास्थ्य सेवाका अलवा यसले हरेक देशको अर्थतन्त्र, ब्यापार, शिक्षा र मानव जीवनको हरेक पक्षमा असर छाड्नेछ । यसरी कोभिड आतंकले हाम्रो समाजलाई थुप्रै चुनौतीहरु थपेका छन भने अवसरहरु पनि दिनेछ । विश्व बैंकले विश्वव्यापी महामारीका कारण नेपाल लगायत दक्षिण एशियाका मुलुकहरुको  आर्थिक बृद्धिदर १ दशमलव ५ देखि २ दशमलव ८ प्रतिशत गिरावट हुने बताएको छ । यसरी कोभिड १९ पछिको विश्व परिवेश र हाम्रो समाजमा के कस्तो परिवर्तन होला भन्ने कुरा कठिन भएपनि केहीे अनुमान गर्न सकिन्छ  । 

त्यसैले सर्वप्रथमतः विश्वले चरम आर्थिक मन्दी खेप्नु पर्नेछ । यसबाट खासगरी मानिसहरुको आवत जावत र ब्यापार प्रभावित हुनेछन । एक अनुमान अनुसार विश्वका ५० करोड भन्दा बढि मानिसहरु गरिवीतिर धकेलिनेछन् । बेरोजगारी र सुकुम्बासी समस्या पनि बढ्ने पक्का छ । यो आर्थिक विचलन पूर्वी तथा दक्षिणपूर्वी एशियाले बढि खेप्नु पर्नेछ । 

यसका कारण विश्वब्यापी नाकाबन्दी पछि पृथ्वीको कम्पन नै कम भएको तथ्य पनि आइसकेको छ । विश्वको वातावरणिय अवस्थामा केहि सुधार हुनेछ । विश्व आर्थिक मञ्चका अनुसार विगत महिनाको तुलनामा हावाको प्रदुषण घटेको र गुणस्तर बढेको छ । हरेक राष्ट्रको वातावरण र जलवायू परिवर्तन र संरक्षण सम्बन्धी काममा लगानी बढ्ने्छ । विश्वको जन्संख्यामा समेत भारी कटौती हुनेछ । मानिसहरुको जीवनमा पैसाको भन्दा धर्ती र आकास अनि माटो र पानीको महत्व बढेर जानेछ । राज्यले भौतिक विकासमा मात्र नभई सामाजिक विकास खासगरी शिक्षा र स्वास्थ्यमा लगानी गर्नेछ ।  सरकारका निकायहरु जस्तै स्वास्थ्य मन्त्रालय प्राकृतिक र दैवी विपतीका लागि संधै तमतयार रहनेछन् ।

सामाजिक रुपमा हेर्दा पनि धेरै कुराहरुमा परिवर्तन आउने सम्भावना छ । सीमीत समयका लागि काम गर्ने प्रथा बस्नेछ । घरबाटै र दूरस्थानबाट  ृचझयतभथिे पनि धेरै काम गर्ने चलन चल्नेछ । नगद कारोबार घटेर विधुतिय विधिमा भर परिनेछ । यलष्लिभ कभचखष्अभक, दष्तअयष्ल, भ(अयmmभचअभ, भ(उबथ, तभभि(जभबतिजरतभभि(mभमष्अष्लभ, खष्चतगब िmभभतष्लन आदीको प्रयोग बढने्छ । सार्वजनिक कार्यक्रमहरु, समूहगत खेलकुद, साप्ताहिक हाटबजार जस्ता गतिविधीहरु बन्द प्रायः हुनेछन । समाजमा देखावटी रुपमा गरिने भिडभाड हुने खालका भोजभतेर र साँस्कृतिक कर्मकाण्ड निरुत्साहित हुनेछन् । धर्र्तीको स्याहार र सम्भारमा जोड गरिनेछ । परम्परागत र प्राकृतिक खेतीप्रणाली, खानपीन र घरेलु तथा परम्परागत औसधि उपचारमा मानिसहरु फर्कनेछन् । मांशहारीको संख्या घट्नेछ र साकाहारीहरु बढ्नेछन् । सामुदायिक सरसफाइमा र स्वास्थ्यमा उच्च सतर्कता अपनाइनेछ । 
तर यसको प्रभावले मनोसमाजिक मानसिक स्वास्थ्य समस्या बढ्नेछ । मानिसहरुको दैनिकीमा आमूल परिवर्तन आउनेछ र धेरै मानवहरुमा विकास र सम्वृद्धीलाई हेर्ने चेत फर्किनेछ । मानिसहरु बिदेशबाट नेपाल र शहरबाट गाउँ फर्कनेछन् । पारिवारिक रुपमा पनि मानिसहरु बढि समय घरमा विताउँनेछन् । यसले परिवारका सदस्यहरुमा आपसी सम्बन्ध राम्रो हुनेछ । यसबाट एकातिर मेलमिलाप बढ्नेछ तर यसको विपरित घरेलु हिंसा बढ्न सक्ने पनि उतिकै खतरा छ । हरेक ब्यक्तिले मानव जीवनको महत्व बुझ्नेछ । मानिसहरु ब्यक्तिगत स्वास्थ्य र सरसफाइ प्रति बढि नै सजग रहनेछन् । 

कोरोना पछिको हाम्रो दायित्व
कोरोना महामारी पछि हाम्रो समाजमा धेरै कुरामा परिवर्तन आउन आवश्यक छ । हरेक ब्यक्तिका दैनिक जीवनशैली देखि राज्यको नीति, कार्यक्रम र प्राथामिकतामा पनि सचेततापूर्वक परिवर्तनको खाँचो छ । हरेक ब्यक्ति र उसको परिवार मिली समाज बन्छ । विभिन्न समाजहरु मिलेर नै राष्ट्र वा देश बन्छ । त्यसकारण यी अपेक्षित परिवर्तनहरु सबैको हितमा छन् । हिजोको समाजमा भएको विकासको नाममा आयातित संस्कृति, धर्तीको दोहन गर्ने होडबाजी र मानव गल्ति सच्याउन सके सबैको जीवन सरल र गुणस्तरीय बनाउन सकिन्छ भन्नेमा कुनै शंका छैन ।

ब्यक्तिगत तवरमा हरेक ब्यक्ति सचेत हुनु अपरिहार्य छ । यसका लागि कोइला र दत्तिवनले दाँत माझ्न पर्दैन । रिठा, खरानी र पीना जस्ता पदार्थले कपडा पनि धुन पर्दैन तर पनि हरेक ब्यक्तिले आफनो जीवनमा केही भिन्नता भने पक्का ल्याउन सकिन्छ । मेहनती किसानहरु महान छन् जसलाई हामी सत्कार गरौं । किनकी हाम्रो खाना बोटविरुवा वा पशुपन्छीबाट आउने गर्दछ । यस बाहेक पनि हरेक नागरिकका घरमा साना ठूला करेसाबारी बनाउन सकिन्छ । शहरी क्षेत्रमा पनि सानो घरबगैचा वा कौसी खेती गर्न राम्रो हुन्छ । जसबाट दैनिक उपभोगका लािग कम्तिमा तरकारी त उत्पादन होस । हरेक छाकमा पाक्ने अनाज र सब्जी ताजा सफा र विषदीरहित भए स्वास्थ्यका हिसावले धेरै बेश हुन्छ । दैनिक रुपमा करेसाबारी वा बगैँचामा काम गर्दा प्राप्त हुने आनन्द र मनोसामाजिक स्वास्थ्य अति लाभदायक हुन्छ । यसलाई स्वास्थ्य मनोविज्ञानको भाषामा पर्यावरण्ीय उपचार विधि ९भ्अयतजभचबउथ० पनि भनिन्छ । भोलिका कर्णधार साना वालवच्चालाई पनि चाउचाउ, चकलेट जस्ता पत्रु खाना भन्दा घरमै पाकेको रोटी, ढिडो, तरकारी र नियमित खाना दिनु राम्रो हो । यसको साथै ती प्रांगारिक खानाको महत्व र पोषणबारे राम्रोसंग बताउनुपर्छ । त्यसैगरी बजारका पत्रु खानाको नकारात्मक पाटो र असरहरुबारे पनि सचेत गराउनु पर्छ । घरमा अनुत्पादक कुकुर र विरालो भन्दा एकजोर उत्पादनशील पशुपन्छी पाल्न किन नसकिने ? यसरी आफ्नो उत्पादनमा भर पर्ने थितीको अभ्यास गर्दा राम्रो हुनेछ । गुन्द्रुक, सिन्की र मसौरा जस्ता खानेकुराको जोहो र प्रयोग गर्दा खर्च पनि बचाउन सकिन्छ । वनजंगलमा पाइने कर्कलो, सिस्नो, निगुरो, च्याउ जस्ता तरकारी तथा अन्य औसधिजन्य वनस्पतिको संरक्षण, संकलन, उत्पादन र उपयोगमा जोड दिनुपर्छ । त्यसैगरी स्थानिय उत्पादनहरुलाई प्रोत्साहन गर्न सकिन्छ । जसले किसानले पनि श्रमको उचित मोल पाउन र स्थानिय अर्थतन्त्र पनि बनोस् । तर यसका लागि साना किसान प्रति आदर र उनका उत्पादनको खपत गर्ने, किसानहरुको सहकारी बैक र अन्य सामुहिक हितका लागि बनेका संस्थाको सेवा लिने बानी र विश्वासको आवश्यक छ । 

सरकारी तवरबाट आगामी दिनमा के कस्ता रणनीति लिने सम्बन्धमा नीजि क्षेत्र समेतको सहभागितामा उच्चस्तरीय कार्यदल बनाई कोरोना प्रभावको अध्ययन अनुसन्धान गरिनुपर्दछ । उर्जाका लागि महंगा आयातित ग्याँस र पेट्रोलियम पदार्थ भन्दा गोबर (जैविक) ग्याँस, सौर्य शक्ति (सोलार) र देश मै उत्पादित विजुलीमा भर पर्न सकिन्छ । यातायातको लागि साइकल र विधुतीय सवारी साधनको प्रयोगमा बढवा दिन सकिन्छ । 

मानव जीवन र प्रृकतिको सम्बन्ध बिगे्रकाले पनि आजको नियति भोग्नु परेको यथार्थ हो । त्यसकारण यसमा सुधार र धर्ती माताको स्याहार संभार हाम्रो कर्तब्य हो भनेर सबैले बुभ्नै पर्छ । फगत पैसा मात्र भन्दा पारिवारिक, सामाजिक र प्राकृतिक सम्बन्धमा जोड दिनु ढिला भइसकेको छ । यसरी परम्परगत सीप, ज्ञान र प्रविधिको खोज, जगेर्ना र प्रवर्धनको महत्व बढेर गएको छ । स्थानिय जडिबुटी बाट घरेलु उपचार साथै अन्य बैकल्पिक र परम्परागत विधीहरुमा आधारित उपचार र औषधि विज्ञानका उपायहरु अपनाउन सकिन्छ । जुन सर्वसुलभ, बढि प्रभावकारी र सबैको पहुँचमा पनि हुन्छ ।

यस विषम परिस्थितीबाट सिकेर राज्यस्तरमा पनि विभिन्न कदमहरु तत्काल उठाउन सकिन्छ । मठमन्दिर र चर्च भन्दा विधालय र अस्पतालहरु निर्माण गरिनुपर्छ । कृषि र पशुजन्य उधमशीलतामा जोड दिंदै बेराजगार युवाहरु खासगरी बैदेशिक रोजगारीबाट फर्केकाहरुको सीप र ज्ञानको उपयोगमा ध्यान दिन सके यसबाट राम्रो लाभ लिन सकिन्छ । विश्लेषक आहुतीको भनाईमा नेपालीहरु चाहेर बेरोजगार भएका होइनन् तर देशमा आवश्यक संख्यामा रोजगारीको अवशर नभएको कारण बिदेशिएका हुन् । यसरी उनीहरुका लागि थप अवसरहरु सृजना गर्न सकिन्छ । 

सरकारले नीजि क्षेत्र र सार्वजनिक सेवा बीच स्पष्ट सीमा रेखा कायम गर्न जरुरी छ । शिक्षा, स्वास्थ्य र सामाजिक विकास जस्ता जनताको जीवनमा प्रत्यक्ष सम्बन्ध राख्ने विषयहरुमा सरकारको पूर्ण नियन्त्रण हुनुपर्दछ । यसलाई फेरि पनि नीजि क्षेत्रको हातमा दिएर देशले हिजो कै गल्ति गर्न मिल्दैन । नीजि विधालय र नीजि अस्पतालहरु तत्काल खारेज वा सरकारीकरण गर्नुपर्छ । सरकारले आयातित विषादी र रसायन माथि पूर्ण प्रतिबन्ध लगाउनुपर्छ । जिएमओ, हाइब्रीड र इनह्यान्सड बीउ विजन, प्लाष्टिक र अन्य नकुहिने पदार्थहरुको आयात, उत्पादन, विक्री वितरणमा तत्काल रोक लगाउनुपर्छ । जनस्वास्थ्यका हिसावले खराव आयातित वा देशमै उत्पादित भए पनि अस्वस्थ पेय पदार्थहरु र प्लाष्टिक बन्द पत्रु खानाहरु माथि कडा भन्दा कडा प्रतिबन्ध र तिनलाई उच्च करको दायरामा ल्याउनुपर्छ । पुननविकरणीय उर्जा, सोलार र विधुतिय सवारी साधनमा भारी छुट, थप चार्जिङ स्टेसन निर्माण र प्रवर्धनका कार्यक्रमहरु ल्याउनुपर्छ । नेपाललाई पनि छिमेकी देश भुटान र भारतको सिक्कीम राज्यले समेत अवलम्बन गरिसकेको जस्तो प्रांगारिक राज्य बनाउन सकिन्छ ।

Link:
https://www.sajhapost.com/2020/04/24/232841.html?fbclid=IwAR3lNSaVuwiERaavxxzASpNDeQ1VLgm0bNPs6ERmy4w_RpLnbJm_izywxCQ

No comments:

Post a Comment

दाङको गर्मी र रोल्पाको जाडो [डा. सुरेश तामाङ] DANG & ROLPA TRAVEL MEMORY

मध्ये वर्खाको समयको यात्रा खतरा भएता पनि रोमान्चक भयो । पश्चिम तराइको दाङ तथा रोल्पाको लागि हामी रवाना भयौं । एतिको विमानबाट भैरहवा ओर्लनासा...