Monday, September 19, 2022

दुइ दशकपछि कोशी पारीको विशेष यात्रा

करिब २५ वर्ष पछि फेरि कोशी पारीका भुम्लु सल्ले, चौरी र कात्तिके देउराली क्षेत्रको भ्रमण गरेँ । पहिला पैदल तर अहिले भने सजिलै मोटरमा जान सकिने भएको छ । यहिँ भएर मध्य पहाडी लोकमार्ग पनि जान्छ । तर सडकको केहि भाग अझै पनि स्तरोन्नति गर्नु पर्ने रहेछ । कोशीपारी र डाँडापारी क्षेत्रहरुलाई काभ्रे जिल्लाका हकमा दूर्गम मानिन्छन् । पहिलो पटक बेलायती मित्र बेन भिकर्स, स्थानीय अगुवा किसान गोविन्द गिरी तथा कफि ब्यवसायी श्री भोजराज गिरी सहित हामी कफि खेती र यसको बजार ब्यवस्थाको बारेमा अध्ययन गर्ने क्रममा त्यस क्षेत्र गएका थियौं । पाँचखालबाट भेँडाबारी, नारायणथानको उकालो काटेर तेमालको ठूलो फर्सेल पुगेको यादहरु ताजै छन । त्यसपछि पच्चरघाट तरेर कात्तिके देउरालीको उकालोमा पसिनाले निथ्रुक्कै भिजेको सम्झन्छु ।
पाँचखालमा तिनताका एभरेस्ट कफि मील सन्चालित थियो । जसको सन्चालकहरु मध्ये होमराज गिरी परिवारले त्यसलाई नयाँ नाम अन्नपूर्ण कफि ब्राण्ड कायम गर्नु भएको रहेछ । दोलालघाटतर्फ जाँदा बाटैमा पर्ने भएकोले हामीले त्यहाँ रोकिएर विहानको कफिको चुस्की लियौ । तर स्थानीय कफि ब्यवसायी तथा सहकारीकर्मी होमराज गिरी बुवा त हालसालै स्वर्गवास हुनुभएछ । उहाँको पुत्र भिमसेन गिरीले हाम्रो सत्कार गर्नु भयो । उहाँले आउने बेलामा कफि उपहार पनि दिनुभयो । हामीले केहि खरिद पनि गरयौं । स्थानीय उत्पादन ताजा, अर्गेनिक कफि बजारमा पाए किन विदेशको किनेर खाने? यसलाई अझै बजारीकरण गरे राम्रो हुने दखियो ।
गत हप्तान्तमा कात्तिके देउरालीमा नवनिर्मित बर्दिङ सेन्टरको उद्घाटन तथा सार्वजनिक सुनुवाइ कार्यकम थियो ।
चौरी देउराली गाउपालिका र वान हार्ट वल्र्डवाइडको आर्थिक सहयोगमा यो निर्मित भएको हो । उक्त कार्यक्रममा निर्माणका विविध पाटो, आर्थिक र अन्य सामाजिक विषय लगायत स्थानीय समस्या र सुझावहरु समेत लिइएको थियो ।
दोलालघाट तरेपछि भोटेकोशी माथिको अर्को बेलिब्रिज तरेर हामी भुम्लुतर्फ उकालो लाग्यौं । केहि परसम्म हरिया जँगल, झरना हेर्दै हामी कोलाँती स्वास्थ्य चौकीमा रोकियौं । वडा कार्यालयसँगै रहेको स्वास्थ्य चौकी अति सफा र ब्यवस्थित थियो । एक कार्यालय प्रमुख स्वास्थ्य सहायक र तीन तालिम प्राप्त नर्सहरुले सेवा दिएको देखियो । तर गर्भजाँच र सुत्केरी गर्न आउने महिलाको सँख्या भने अति न्युन थियो । त्यहाँ हालै सुत्केरी गराएकाहरुको विवरण हेर्दा ति महिलाहरु कम उमेरका (१७ देखि २७ वर्ष मात्र) थिए । गर्भजाँच गर्न आउनेहरुको जातीगत विवरण हेर्दा पनि तामाङ, माझी, पहरी र दलितको सँख्या उच्च थियो । अन्य जातीका गर्भवतीहरु किन कम भए भन्ने जिज्ञासामा अधिकाँसको राजधानी वा अन्य शहरमा पनि बासोबास रहेको र अस्पतालको पहुँच भएको शँका गरियो । यस चौरी देउराली पालिकामा एक क्याम्पस समेत रहेको छ भने सबै वडाहरुमा स्वास्थ्य चौकी मार्फत आधारभूत स्वास्थ्य सेवा उपलब्ध छन् ।
यस क्षेत्रमा राम्रो खेतिपाती, फलफूल, तरकारी र दुध उत्पादन हुन्छ । तर कतिपय मानिसहरु अझै पनि आर्थिक रुपमा पनि कमजोर नै छन् । शिक्षा जनचेतनाका हिसावले पनि अझै कतिपय समुदाय पछाडी छन् । राजधानीबाट करिब ८५ किमी मात्र दूरी भए नियमित यातायातमा कठिनाइ छ । यहाँको सामाजिक, आर्थिक, शैक्षिक र स्वास्थ्यको अवस्थामा अझै सुधार गर्न आवश्यक छ । यहाँ प्राकृतिक श्रोत जस्तै, जल, जमिन र जँगलहरु प्रशस्तै छन् । यस क्षेत्रमा प्रशस्त वनपैदावर भएकोले सन् १९९० को दशकमा नै चौबास भुम्लु क्षेत्रमा स्थानीय सामुदायिक वन उपभोक्ताहरुले आफ्नै काठ चिरानी गर्ने मील समेत स्थापना गरेका थिए । कोशी र चौरी खोला किनारामा अन्य प्राकृतिक नदिजन्य पैदावरहरु पनि प्रशस्तै छन् । ति सबै कुराहरुको यथोचित ब्यवस्थापन र परिचालन गर्न सके सीमित आम्दानी भएको गाउँपालिका आर्थिक रुपमा सबल हुने देखिन्छ । यसक्रममा चौरी देउराली गाउँपालीका प्रमुख श्री रेनुका चौँलागाई, स्थानीय शिक्षक, बुद्धिजीवि, समाजसेवी तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरुसँग पनि अन्तरकृया भयो । श्रीमानले पिड्दा पनि धारामा ठोकिएको वहाना गर्ने ग्रामीण महिलाहरु घरेलु हिँसाबाट पिडीत छन् भन्ने कुरा स्थानीय प्रहरी कार्यालयका प्रमुखले बताउनुभयो ।

No comments:

Post a Comment

दाङको गर्मी र रोल्पाको जाडो [डा. सुरेश तामाङ] DANG & ROLPA TRAVEL MEMORY

मध्ये वर्खाको समयको यात्रा खतरा भएता पनि रोमान्चक भयो । पश्चिम तराइको दाङ तथा रोल्पाको लागि हामी रवाना भयौं । एतिको विमानबाट भैरहवा ओर्लनासा...