Welcome, Namaste, Lhasso, Fyafulla, Tashi Delek and Aloha !!!! This is my personal blog (including professional work, travel and family). I have witnessed many amazing and life-affirming moments, and I want to share a few of my favorites from early days to date randomly. Let us make this world a better place to live a happy, satisfied and dignified life. I appreciate your comments and feedback as and when necessary! Good day ! Suresh Tamang, PhD (Nepal)
Saturday, July 10, 2021
आचुङ्मा (सानो) सर [The Tiny Teacher]
आचुङ्मा (सानो) सर !
मैले २०४५ सालमा एसएलसी पास गरे । उसबेला म करिब १६ वर्षको मात्र थिए । जिल्ला भरका ३ जना प्रथम श्रेणीमा उतिर्ण भएका मध्ये म दोस्रो थिएँ । परिवारजन र मेरो आफ्नै पनि धेरै अपेक्षा थियो । तदअनुसार त्यसबर्ष आफुले भनेको जस्तो बिषय पढ्न नपाएकोले मेरो क्याम्पस जाने सपना रोकियो । मैले विराटनगरमा पिसिएल नर्सिँग र थापाथलीमा मेकानिकल इन्जीनियरिँगमा नाम दर्ता भएर पनि पढिन । मेरो एक वर्ष खेर जाने पक्का भयो । आजकाल त्यसलाई ग्याप इयर भन्दा रहेछन।
तर त्यहि बेला तत्कालिन राजा बीरेन्द्रले एउटा योजना अघि सारेका रहेछन् । नेपाललाई पनि एशियाली मापदण्डमा पुर्याउने । तिनताका हिमाली जिल्ला संखुवासभा जिल्लाको उत्तरी भोटखोलाको शैक्षिक अवस्था निकै दर्दनाक थियो । साविकको पावाखोला (हाल मकालु गापा) गाविस वडा नं ७ स्थित भोटेगाउँमा एउटा विद्यालय खोल्ने प्रस्ताव आयो । प्रधानाध्यापक स्वर्गीय गोकुल घिमिरेका साथमा मेरो अस्थाइ प्रावि शिक्षकको रुपमा नियुक्ति पनि भयो । त्यो बेलामा मेरो तलब जम्मा ९६० रुपैयाँ थियो । त्यसको ९० प्रतिशत दुर्गम भत्ता बापत उपलब्ध थियो । गोकुल सर र म भोटखोलाकोे यात्रामा लाग्यौं । कलिलो उमेर र पहिलो जागिरले गर्दा म एकदमै उत्साहित पनि थिएँ । तर यो मेरो अविस्मरणिय र पहिलो भोटखोलाको यात्रा थियो । उकालो ओरालो गर्दै जानुपर्ने बाटो भने निकै कठिन र जाखिमपुर्ण पनि थियो ।
हाम्रो यात्राको पहिलो दिन खाँदबारीबाट भर दिनको पैदल यात्रापछि नुम सम्म पुगियो । अर्को दिन हाम्रो पाइलाहरु हेदाङ्गना हुँदै पुर्व तर्फ बढ्यो । दोस्रो रात पनि ओवाकको एक तामाङ परिवारसँग वितायौं । भोलीपल्ट ओवाकबाट चसुवाटार, नेवारे र देउराली हुँदै हामी अघि बढ्यौ । नाक ठोक्किने ढुङ्गा खोपेको उकालो काटेपछि पुगिने सानो सुन्दर र अन्तिम गाउँ नै हाम्रो गन्तब्य थियो । वरिपरि हिमालले ढाकेको यो गाउँमा त्यसबेला करिब २०–२२ वटा घरहरु मात्र थिए । ति पनि सबै नावा (भोटे) जातिका मात्र । हरेक घरमा तीन पुस्ता संगै बस्ने र त्यसमा पनि प्रशस्तै केटाकेटीहरु । ब्यक्तिगत सरसफाइ र परिवार नियोजनका बारेमा उनीहरुसंग सायदै ज्ञान थियो । सानो र समथर गाउँ भएपनि निकै उचाइ भएका कारणले प्रशस्त हिउँ पर्ने गर्दथ्यो । अन्नपातको नाममा अलि अलि गहुँ र आलु बाहेक अरु केही नहुने । चौरीपालन र व्यापारबाट त्यहाँको जनजीवन चल्दथ्यो । त्यहाँका बासिन्दाहरुको तिव्बतीसँग मिल्ने रहनसहन, भाषा र संस्कृति थियो । त्यसबेलासम्म त्यो गाउँमा ५ कक्षा पास गर्ने मान्छे कोही पनि थिएनन् ।
हामीलाई ओवाकमा केही बर्ष बिताएका ओझा थरका एकजना शिक्षकले राम्रो सहयोग गरे । गाउँ बैठक बोलाइयो । सबैले बिद्यालय चाहिएको कुरा गरे । गाउँबिचको एउटा सार्बजनिक जमिन विधालयका लागि छुट्याइयो । लाप्साङको बा (नाम भुलेको) को अध्यक्षतामा विधालय संचालक (हाल ब्यवस्थापन) समिति गठन पनि भयो । जनश्रमदानबाट जमिन खार्ने काम तत्कालै सकियो । घरघरबाट र केहि जंगलबाट काटेर आवश्यक काठपात जुटाइयो ।
सल्ला धुपीको काठ, मालिगो बाट बनेको चित्राको छाना र बारबन्देज गरेर चारकोठे भवन तयार गर्न धेरै दिन लागेन । त्यसमा एक देखि तीन कक्षाका लागि कोठाहरु थिए । कार्यालय र शिक्षक आवास (भान्सा समेत) तयार भयो । खेलमैदान र प्रार्थनाका लागि सानो आँगन पनि थियो । गाउँलेहरुले हामीलाई मासिक रुपमा केहि अन्न दिन्थे । तरकारीको लागि सागपात भन्दा पनि चौरीको मासु (स्या) नै बढि दिन्थे ।
तिनताका गाउँमै पहिलो पटक आएका शिक्षकहरु सम्मानीत हुन्थे । हरेक घरले हामीलाई निम्ता गर्ने गर्थे । घिउ चिया र भुटेको मकै भटमास चौबिसै घण्टा उपलब्ध हुन्थ्यो । मेरो उमेर पनि सानो थियो । मद्यपान गर्ने बानी पनि थिएन । प्रधानाध्यापकले चाहिँ अन्नपात भन्दा बढी तरल (छ्याङ र आइराक) नै सेवन गर्थे । तातो थुक्पा, चौरीको मासु र भट्मास पनि खुब खाइयो । कहिले काँही सिकार गरी कोशेली पठाइएको जंगली चरा (कालीज) पनि प्रशस्तै खाइयो ।
योजना बमोजिम विद्यालय तयार र कक्षा सञ्चालन भयो । मेरा विद्यार्थीहरु भने २१ बर्ष सम्मका थिए । दैनिक रुपमा पढाइ लेखाइ शुरु भयो । करिब १६ वर्षको कलिाले मान्छे म । म सानो भएकोले मलाई सबैले आचुङ्मा (सानो) सर भनेर बोलाउँथे । दिनहरु रमाइलो संगै बिते । दैनिक कक्षा संचालन मैले नै गर्थै । चौैमासीक तलब भत्ता निकासा गर्ने, जिल्ला शिक्षा कार्यालय जाने आउने काम मेरै थियो । जसका लागि शिक्षक हाजिरी, विद्यार्थी हाजिरी, विधालय सन्चालक (व्यवस्थापन) समिति बैठकको निर्णयको प्रतिलिपी अनिवार्य समाबेश गर्न आवश्यक थियो । जिल्ला गएर आँउदा वालवालकिालाई कापी र शिशाकलम, अविभावकका लागि साबुन र मसला कोसेली लगि दिन्थे । उनीहरु अति खुशी हुन्थे ।
त्यसै क्रममा मैले जीवनमा पहिलोपल्ट हिउँ देखेको हो । यसैक्रममा चौरीगोठ र खर्कको यात्रा पनि गरे । तोङबाको पीपा (पिप्सिङ) बनाउने सानो निगालोको सुइरो काट्न जाँदा हिउँको भासमा पुरिएर झण्डै मरेको । उसो त करिव दस महिनाको बसाइमा जम्मा जम्मी आठ–दश चोटी मात्र नुहाएँ होला मैले । स्थानीय भाषा पनि राम्रैसँग बुझ्न सक्ने भएको थिएँ । अहिले पनि त्यो भाषामा सामान्य वार्तालाप गर्न सक्छु । नेपालका अन्य हिमाली जातीहरुले बोल्ने तामाङ, गुरुङ, शेर्पा, थकाली र यो भाषा पनि भोटवर्मेली उपसमुह अन्तर्गत पर्दछन् ।
हालै स्थानीय शिक्षक सोक्ते भोटेसंग मेरो भेट भयो । हाल त्यस गाउँमा १८ घरधुरी माात्र रहेछन् । जम्मा जनसंख्या ९९ जसमध्ये २१ जना जति ५ वर्ष मुनिका र तर करिब ११ जना मात्र विद्यालयमा भर्ना भएका । बाँकी घर वा चौंरीगोठमा बस्छन् तर पढ्न जाँदैनन् ।
आजका दिनसम्म आइपुग्दा, त्यसबेलाका ति म भन्दा ठुला मेरा बिद्यार्थीहरु मध्ये कोही शिक्षक, कोहि स्थानीय निकायमा प्राविधिक सेवामा कार्यरत रहेको सुनेको छु । शान्ती क्षेत्र प्राथमिक विद्यालयको नाममा स्थापित सो विद्यालय आज सम्म सञ्चालित छ । यस कुराले म भित्रै देखि गौरवान्वित हुन्छु ।
Subscribe to:
Post Comments (Atom)
दाङको गर्मी र रोल्पाको जाडो [डा. सुरेश तामाङ] DANG & ROLPA TRAVEL MEMORY
मध्ये वर्खाको समयको यात्रा खतरा भएता पनि रोमान्चक भयो । पश्चिम तराइको दाङ तथा रोल्पाको लागि हामी रवाना भयौं । एतिको विमानबाट भैरहवा ओर्लनासा...

-
It was probably around late-1980s. I was born and raised in Eastern hills of Nepal. My hometown, Tumlingtar was/is a popular trekking route ...
-
आचुङ्मा (सानो) सर ! मैले २०४५ सालमा एसएलसी पास गरे । उसबेला म करिब १६ वर्षको मात्र थिए । जिल्ला भरका ३ जना प्रथम श्रेणीमा उतिर्ण भएका मध्य...
-
Pef]sf8f]sf] klxnf] :jfbM e]8faf/Lsf kl08t / bfªsf rf}w/L a'af . @)%^ / %& ;fndf g]kfndf slkm v]ltsf] tTsfnLg cj:yf / ef...
No comments:
Post a Comment