आज सरकारले एसइइ नलिने निर्णय भएको कुराले मलाई आफ्ना पुराना
दिनहरुको याद आयो । करिव ३२ वर्ष पो भएछ त्यो बेलाको फलामे ढोका नाघेको पनि
। यो जीवनमा धेरै कुराहरु भोगिएकोछ । वाल्यकाल र किशोर हुदाँको यथार्थ
कहानी आज एसइइ बन्द हुदाँ सम्झेको छु। तिनै तितामिठा अनुभवहरुलाई आज इतिहास
जस्तै बनेको छ।
यो मेरो जीवनको उतारचढाव, सुख, दुःखका भोगाइहरुको
गाथा यो लेखको सार हो। नयाँ पिँढीलाई यो एकादेशको दन्ते कथा जस्तो पनि
लाग्न सक्छ ? तर यसले अरुको जीवनमा पनि केहि सन्देश वा उर्जा दिने आशा
गरेको छु । यसले कसैकसैको जीवनमा मार्गदर्शन गर्न पनि सक्ला ? यो सानो आलेख
परिवारका सदस्यहरु अनि मेरो जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव
पार्नुहुने सम्पुर्ण अभिभावकहरुमा पनि समर्पित गर्दछु ।
क) पहिलो स्कुल यात्राम २०२८ सालमा जम्मेको मान्छे
हुँ । शायद ३ वा ४ वर्ष थिए होला । उति बेलाको शिक्षा र विद्यालयको अवस्था
पनि फरक थियो। संखुवासभाको तुम्लिङटारमा एउटा स्थानीय प्राथमिक विद्यालय
(मनकामना प्रावि हालको रत्न अम्बिका उच्च मावि) मात्र थियो । त्यसवेला
आजकाल जस्तो मोन्टेश्वरी, प्रारंभिक वाल विकास (इसीडी) वा प्लेग्रुप भन्ने
थिएन ।
मलाई स्कुल जान पनि कति हतार लागेको होला । सायद जाडोको मौसम रहेनछ । एक
दिन घरमा पत्तो नै नदिइकन दाजु दिदी र छिमेकका केटाकेटीहरुको पछि लाग्दै म
पनि स्कुल पुगेछु । खै शिशु कक्षा जस्तो लाग्छ । अरु पनि थुप्रै
भुन्टाभुन्टीहरु गल्याङ्गगुलङ्ग गरिराखेका थिए । धुलाम्मे भुइँमा सबै खाली
खट्टा, मैला धैला जो थिए । पुरानो एकतले माटोको भवन, झ्यालमा चौकोस मात्र
थिए तर उदागो थियो । काठका पुराना बेन्च हो कि फल्याक मात्र थिए । मेरा
वरिपरि अरु पनि थुपै साथीहरु पनि थिए । तर गुरुवा वा गुरुआमा कोहि पनि आएका
थिएनन् ।
म निकै उत्साहित पनि थिए, कता कता मनमा डर पनि त थियो नै । एकछिनपछि त
एक्कासी म झसँग भएँ । किनकि मैले आधा शरिर मात्र ढाकेको रहेछु । मेरो जीउमा
माथितिर त खै गन्जी वा कमिज के थियो तर कम्मर मुनि भने सर्वाङ्गै केहि पनि
लगएको रहेनछु । मेरो अनुहार लाजले कालो निलो भयो, जीउ सिरीङ्ग भयो, मुटु
सारो सारो चल्न थाल्यो । मैले विस्तारै दैलातिर पाइलाहरु बढाए । दाँया
बाँया र पछाडी नहेरीकन घर तिर दौडिए । मेरो घर र त्यो स्कुल बिच करिव २
देखि ३ किलोमीटर जतिको दुरी होला । म कतै नरोकिकन दौडेर घर फर्के । मुख
सुकेर घाँटी पोल्दै दौडेको त्यो दिन अझै राम्रो याद छ । पछि कत्रो भएर फेरि
स्कुल गएँ त्यो याद छैन । तर करिब १६ वर्ष पनि राम्रो नपुग्दै मैले २०४४
सालमा परिक्षा दिएर एसएलसी पनि उत्तिर्ण गरे ।
ख) अंग्रेजी मोह र विदेशीसँगको सम्बन्धकरिब ५, ६
मा पढ्दा नै म विदेशीहरुसंग बोल्ने गर्थे । उसबेला पदयात्रा (ट्रेकिङ) र
मकालु र सगरमाथा हिमाल आरोहणका लागि धरै पर्यटकहरु हाम्रो गाउँको बाटो हुदै
जाने गर्दथे। जहाज र पैदल आएका विदेशीको बसाइ तुम्लिङटारनै हुने गर्दथ्यो।
म उनीहरुसँग घुलमील गर्थे । एकजना अमेरीकीले त उसको देश गएर १२ थान रगिन
नेश्नल जोग्राफिक म्यागिनको पुरै एकवर्षको अंकको सेट नै पठाइदिए ।
त्यसमध्ये कुनै अंकमा देखेर मैले फर्सिलाई खोपेर भुतको अनुहार जस्तो बनाइ
राती मकै बारीमा मैनबत्ती राखेर मान्छे पनि तर्साएको थिए । म त दंग परेको
थिए । अर्का एक इटालियन नागरिकले फोटो र केहि उपहार पठाएका थिए ।
एकदिन साथीहरुसंग खेल्दा खेल्दै आप खाने विचार भयो । सायद बर्षातको मौसम
आप लटरम्मै फलेर पाकेका थिए । मैले साथीहरुलाई अंग्रेजीमा भन लेट्स गो
एण्ड इट म्यागोज अलि परबाट मेरी आमा कराइन । आप मात्र खाओ त, मैले छल्ने
प्रयास गरे । हामीले आँप खाने भनको छैन । आमाले कराउनुभो । मलाइ ढाँट्ने
म्याङगो माने आँप होइन । मेरी आमाले त पढने मौका पाइनन् तर हामीले पढ्दा
छेउमा बसेर ध्यानले सुनेर सिक्नुभाको रहेछ ।
कहिलेकाहि साँझमा निलकण्ठ मामा आउँथे । खानपीन पछि हराउँथे । हामीलाई
सोभियत भुमि पत्रिका दिएर जान्थे । मलाई उहाँको अनुहारमा भएको कोठि याद छ ।
पछि थाहा भयो उहाँ त हालको जनता समाजवादीका नेता असोक राई पो हुनुहुँदो
रहेछ । शायद पन्चयत कालमा उहाँ भुमिगत रुपमा हाम्रो जिल्लातिर संगठनको
काममा सकृत थिए ।
ग) हिमालय मावि खाँदवारी २०४३ सालमा म कक्षा ९ मा
भर्ना भए । मैले इलामको मालापथ मुनि सुन्तलाबारी स्थित आदर्श मावि बाट
कक्षा ८ उतिर्ण गरेको थिए । म राम्रो मध्यकै विधार्थी भएकोले प्रअले घर
फर्कन झण्डै नदिएका । तुम्लिङटारबाट तिन ताका कक्षा ( ९ र १०) मा करिब २०,
२५ विधार्थीहरु खाँदवारी जान्थे । जसमध्ये म सबै भन्दा सानो थिए । करिब २
घण्टा एकतर्फी पैदल उकालो चढेर जानु पर्ने । आजकाल जस्तो अरामदायी जुत्ता
चप्पल पनि थिएनन् । त्यति मात्र कहाँ हो र ? विहान एक लगन घरबारीको काम
(घाँसपात) गरेर मात्र हामी विधालय जान्थ्यौं । वर्षादमा हिलो र हिउँदमा
धुलाम्मे हुने, विहान करिब २ घण्टाको उकालो । साँझमा फर्कदा भने दौडेको
सुरमा अलि चाँडै घर पुगिन्थ्यो ।
एकदिन कक्षा ९ को हाम्रो सेक्सनमा अचानक प्रअ जंग बहादुर ठाकुर आए ।
उहाँसंग सबै सतर्क रहने र डराउने गर्थे । कक्षामा छड्के जाँच गर्न आएका
रहेछन् । उनले केहि हचुवा प्रश्नहरु एकाध विधार्थीलाई उठाएर सोधे । त्यसमा
हाम्री सुमित्रा दाहाल दिदी पनि परिन । उनी उठिन तर एक शब्द पनि निकालिनन् ।
खै डरले हो वा नजानेर थाहा भएन । प्रअले धेरै बल गरे । अन्तमा उनी कहाँबाट
आएकी विधार्थी हो भनेर सोधे । मुखाले साथीहरुले प्वाक्क भने,
तुम्लिङटारबाट । उहाँको मुखबाट प्याटट आयो, त्यहाँका विधार्थी यस्तै हुन ।
मलाई त्यो कुराले मनमा गहिरो चोट परयो । यिनलाई म पनि देखाउला भने झै इखले
जरा गाड्यो । पछि कक्षा ९ को अन्तिम परिक्षामा मैले आफ्नो स्थान राम्रा
विधार्र्थी मध्येमा दरे ।
अर्को एक दिन प्रार्थना सकिएर सबै कक्षामा भरखरै पसेका रहेछन । म पनि
हतार गर्दै कक्षाको ढोकै निर के पुगेको थिए, कक्षागत गीत गाउने घण्टी
बजिहाल्यो । साथीहरु जराकजरुक उठेर गीत गाउन थाले । मलाई आपत परयो । हतपत
गर्दै म भित्र गए । एकछिन पछि प्रअले मलाई बोलाए । कडा स्वरमा किन अघि
कक्षागत गीत शुरु भएपछि कोठामा छिरेको भनी सोधे । मैले डराउँदै नम्र भएर
भने, म पुग्नासाथ गीत शुरु भयो । आइन्दा यस्तो नगर्ने चेतावनी सहितको कडा
आदेश शिरोपर गरेर म कक्षामा फर्के ।
उसबेला ट्युसन पढ्ने र पढाउने चलन थिएन । विधालयले नै एकाध महिना कोचिङ
कक्षा भने चलायो । म ३ महिना जति टेस्ट परिक्षाको लागि खाँदवारीमा नै डेरा
गरि बसे । करिव २१८ जना विधार्थीहरु यसमा सामेल थिए । परिक्षाको नतिजा आयो ।
म त तेस्रा भए । सबै चकित भए ।
केहि महिनाको तयारी पछि एसएलसी पनि दियौं । माघको ७ गते २०४४ साल, त्यहि
दिन तत्कालीन राजा बीरेन्द्रको खाँदवारी भ्रमण रहेछ । धनकुटा मुकाम बनाई
हरेक दिन पुर्वान्चलको एक जिल्ला हेलिकप्टरमा उड्ने चलन । अघिल्लो साँझमा
टुडिखेलमा निशुल्क डकुमेन्ट्री देखाउने गर्थे । सायद मान्छे बटुल्नका लािग
होला ।
तर परिरक्षा राम्रैसंग सकियो । मेरो सिम्बल न। अहिले पनि याद छ । ००४१४१
के, अहिले जस्तो मेसेज वेवसाइट इन्टरनेट भन्ने थिएन । गोरखापत्र हेर्नै
भरदिन तुमिलङटार एअरपोर्टमा जहाज कुरेर बसे । साँझ ४ बजेको काठमाण्डौंको
नेपाल एअरलाइन्सको जहाजमा गोरखापत्र आयो । मैले मेरो सि नं। खोजे, शुरुमा
मेरो नम्बर नै भेटिएन । फेल भइएछ जस्ते भो । तर म त फस्ट डिभिजनमा पो परेछु
। जिल्लाका ३ उत्कृष्ठ मध्ये म एक रहेछु । हर्षका सीमा रहेन । गाउँघर,
परिवार, विधालय र जिल्लामा नै तहल्का भयो । उसबेलाको प्रथम श्रेणी अहिलेको ए
प्लस भन्दा माथि जस्तै ।
१२ वर्षवछि म गत साल खाँदवारी गएँ । खाँदबारीको मुहारै फेरिएछ । उसो त
२०४५ साल पछि गृह जिल्ला अकाल झुकाल आउने गर्थै । धेरै कुराहरु फेरिएछन् ।
घर भवन, कारखाना, सवारी साधन, मोटरबाटो, होटल ब्यापार आदी । तर शनिबारे
हटिया (हप्तान्तमा लाग्ने नियमित हाट बजार) त उस्तै । अस्पतालको हाताभित्र
केहि नयाँ भवन, बन्दै रहेछ । तर कतिपय मानिसहरु र दोकानहरु भने उस्तै पनि
लागे । वरिपरिको वातावरण, कृषि खेति र बन्द ब्यापर एकदम भिन्न । मेले
एसएलसि सकाउँदा सम्म संखुवासभा जिल्लामा नै विजुली बत्ती थिएन । मटितेलको
टुकी बालेर हामी राती पढेको मान्छे । विहान नाकको प्वालमा कालो ध्वाँसो
निस्कन्थ्यो । शहरी ढंगका आधुनिक धरका विस्तार, कति धेरै बैंक, सेलुन र
साना ठुला होटलहरु । घरघरमा मोटरसाइकल, हातमा मोवाइल । हरेक घरका कोहि न
कोहि विदेशमा काम गर्ने । सके युरोप वा अमेरिका नभएपनि अरब वा मलेशिसयामा ।
रेमिट्यान्सबाट आएको पैसा खानपीन र नक्कल झक्कलमा खतम । खानपीनमा व्यपक
बदलाव, स्थानिय जातका खानेकुरा केहि छैन । सबै आधुनिक र विकासे । सबै चिज
बोइलर कुखुरा जस्ता । विविध सेवा सुविधा त बढेको देखियो तर आम जनताको जीवन र
समाज कल्याणमा के कस्ता फेरबदल आए, त्यसको त अध्ययन नै गर्न पर्ला ।
मैले भोटखोला तर्फ पनि जाने विचार गरे र उसबेला बल्लतल्ल एकदिनको पैदल
यात्रामा नुम पुगिने । करिब ३० वर्षपछिको मरो यात्रा । उसबेला पैदल, अहिले त
मोटरबाटो बनको छ । तर सडकको अवस्था अति जर्जर, खतरा र हिलाम्मे, ज्यान
जोखिममा राखेर यात्रा गर्नु पर्ने । भोटखोलातर्फ गोलासम्म सडक विस्तार भएको
भएपनि यसमा अझै ब्यापक सुधार आवश्यक रहेछ । विराटनगरदेखि किमाथांका स्थित
तिब्बत जोड्ने कोशी राजमार्ग भारतीय र चिनियाँ सीमाना जोड्ने सबभन्दा छोटो
सडक (२९२ किमि) हुनेछ ।
यो खाँदबारी भ्रमणमा म हिमावि पनि गए । नयाँ थप भवनहरु बनेका रहेछन् ।
पुरानो एउटा मात्र भवनको अंश जीर्ण अवस्थामा बाँकी रहेको पाएँ । कक्षा
कोठाहरु, शिक्षकको कार्यालय, पुस्तकालय आदी धेरै। व्यवथित लाग्यो । १२
कक्षा सम्मको नियमित पढाइ भइरहको छ । तत्कालिन प्रअ जंग बहादुर आश्रममा
बस्ने सुनेको छु तर भेट भएन । हालका प्रअ बीर बहादुर सर पनि भेट्न सकिएन ।
यस हिमाविका विधार्थी मध्ये हाल नेपाल सरकारमा ५, ६ जना त सचिव नै छन् ।
प्रमुख निवार्चन आयुक्त मा. दिनेश थपलिया पनि यसै विद्यालयका उत्पादन हुन्
। उसो त हालका अेमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्की पनि
यहिबाट निर्मित हुन् । अन्य अधिकृत, सुब्बा र खरिदारहरु त अनगिन्ती छन् ।
हरेक मन्त्रालय र विभागमा हिमाविका सन्तान भेटिन्छन् । गैसस र नीजि
क्षेत्रमा पनि सअस्ख्य मानिसहरु कार्यरत छन् । म सरकारी नियुक्ती फालेर
गैससमा पसेको मान्छे । मलाई केहि पछुतो छैन, आफु जुन क्षेत्रमा भएपनि देश र
समाजका लागि के गरिन्छ, त्यसले महत्व राख्दछ भन्ने मलाई लाग्छ ।
घ) आचुङ्मा (सानो) सरमैले १६ वर्षमा नै २०४५ सालमा
एसएलसी पास गरेको थिए । जिल्ला भरका ३ जना प्रथम श्रेणीमा उतिण भए मध्ये म
एक थिएँ । परिवारजन र आफ्नो अपेक्षा अनुसार त्यसबर्ष आफुले भनेको जस्तो
बिषय पढ्न नपाएकोले मेरो क्याम्पस जाने सपना रोकिने निश्चित भयो । आजकाल
त्यसलाई ग्याप इयर भन्दा रहेछ। तत्कालिन राजा बीरेन्द्रले एउटा योजना अघि
सारेका रहेछन् । नेपाललाई पनि एशियाली मापदण्डमा पुर्याउने । तिनताका
हिमाली जिल्ला संखुवासभा जिल्लाको उत्तरी भोटखोलाको शैक्षिक अवस्था निकै
दर्दनाक थियो ।
साविकको पावाखोला (हाल मकालु गापा) गाविस वडा नं ७ स्थित भोटेगाउँमा
एउटा विद्यालय खोल्ने प्रस्ताव आयो । प्रधानाध्यापक स्वर्गीय गोकुल
घिमिरेका साथमा मेरो अस्थाइ प्रावि शिक्षकको रुपमा नियुक्ति पनि भयो । त्यो
बेलामा मेरो तलब जम्मा ९६० रुपैयाँ थियो । त्यसको ९० प्रतिशत दुर्गम भत्ता
बापत उपलब्ध थियो । गोकुल सर र म भोटखोलाकोे यात्रामा लाग्यौं । कलिलो
उमेर र पहिलो जागिरले गर्दा म एकदमै उत्साहित पनि थिएँ । तर यो मेरो
अविस्मरणिय र पहिलो भोटखोलाको यात्रा थियो । उकालो ओरालो गर्दै जानुपर्ने
बाटो भने निकै कठिन र जाखिमपुर्ण पनि थियो ।
हाम्रो यात्राको पहिलो दिन खाँदबारीबाट भर दिनको पैदल यात्रापछि नुम
सम्म पुगियो । अर्को दिन हाम्रो पाइलाहरु हेदाङ्गना हुँदै पुर्व तर्फ बढ्यो
। दोस्रो रात पनि ओवाकको एक तामाङ परिवारसँग वितायौं । भोलीपल्ट ओवाकबाट
चसुवाटार, नेवारे र देउराली हुँदै हामी अघि बढ्यौ । नाक ठोक्किने ढुङ्गा
खोपेको उकालो काटेपछि पुगिने सानो सुन्दर र अन्तिम गाउँ नै हाम्रो गन्तब्य
थियो । वरिपरि हिमालले ढाकेको यो गाउँमा त्यसबेला करिब २०–२२ वटा घरहरु
मात्र थिए । ति पनि सबै नावा (भोटे) जातिका मात्र । हरेक घरमा तीन पुस्ता
संगै बस्ने र त्यसमा पनि प्रशस्तै केटाकेटीहरु । ब्यक्तिगत सरसफाइ र परिवार
नियोजनका बारेमा उनीहरुसंग सायदै ज्ञान थियो । सानो र समथर गाउँ भएपनि
निकै उचाइ भएका कारणले प्रशस्त हिउँ पर्ने गर्दथ्यो । अन्नपातको नाममा अलि
अलि गहुँ र आलु बाहेक अरु केही नहुने । चौरीपालन र व्यापारबाट त्यहाँको
जनजीवन चल्दथ्यो । त्यहाँका बासिन्दाहरुको तिव्बतीसँग मिल्ने रहनसहन, भाषा र
संस्कृति थियो । त्यसबेलासम्म त्यो गाउँमा ५ कक्षा पास गर्ने मान्छे कोही
पनि थिएनन् ।
हामीलाई ओवाकमा केही बर्ष बिताएका ओझा थरका एकजना शिक्षकले राम्रो सहयोग
गरे । गाउँ बैठक बोलाइयो । सबैले बिद्यालय चाहिएको कुरा गरे । गाउँबिचको
एउटा सार्बजनिक जमिन विधालयका लागि छुट्याइयो । लाप्साङको बा (नाम भुलेको)
को अध्यक्षतामा विधालय संचालक (हाल ब्यवस्थापन) समिति गठन पनि भयो ।
जनश्रमदानबाट जमिन खार्ने काम तत्कालै सकियो । घरघरबाट र केहि जंगलबाट
काटेर आवश्यक काठपात जुटाइयो ।
सल्ला धुपीको काठ, मालिगो बाट बनेको चित्राको छाना र बारबन्देज गरेर
चारकोठे भवन तयार गर्न धेरै दिन लागेन । त्यसमा एक देखि तीन कक्षाका लागि
कोठाहरु थिए । कार्यालय र शिक्षक आवास (भान्सा समेत) तयार भयो । खेलमैदान र
प्रार्थनाका लागि सानो आँगन पनि थियो । गाउँलेहरुले हामीलाई मासिक रुपमा
केहि अन्न दिन्थे । तरकारीको लागि सागपात भन्दा पनि चौरीको मासु (स्या) नै
बढि दिन्थे ।
तिनताका गाउँमै पहिलो पटक आएका शिक्षकहरु सम्मानीत हुन्थे । हरेक घरले
हामीलाई निम्ता गर्ने गर्थे । घिउ चिया र भुटेको मकै भटमास चौबिसै घण्टा
उपलब्ध हुन्थ्यो । मेरो उमेर पनि सानो थियो । मद्यपान गर्ने बानी पनि थिएन ।
प्रधानाध्यापकले चाहिँ अन्नपात भन्दा बढी तरल (छ्याङ र आइराक) नै सेवन
गर्थे । तातो थुक्पा, चौरीको मासु र भट्मास पनि खुब खाइयो । कहिले काँही
सिकार गरी कोशेली पठाइएको जंगली चरा (कालीज) पनि प्रशस्तै खाइयो ।
योजना बमोजिम विद्यालय तयार र कक्षा सञ्चालन भयो । मेरा विद्यार्थीहरु
भने २१ बर्ष सम्मका थिए । दैनिक रुपमा पढाइ लेखाइ शुरु भयो । करिब १६
वर्षको कलिाले मान्छे म । म सानो भएकोले मलाई सबैले आचुङ्मा (सानो) सर भनेर
बोलाउँथे । दिनहरु रमाइलो संगै बिते । दैनिक कक्षा संचालन मैले नै गर्थै ।
चौैमासीक तलब भत्ता निकासा गर्ने, जिल्ला शिक्षा कार्यालय जाने आउने काम
मेरै थियो । जसका लागि शिक्षक हाजिरी, विद्यार्थी हाजिरी, विधालय सन्चालक
(व्यवस्थापन) समिति बैठकको निर्णयको प्रतिलिपी अनिवार्य समाबेश गर्न आवश्यक
थियो । जिल्ला गएर आँउदा वालवालकिालाई कापी र शिशाकलम, उनका अविभावकका
लागि साबुन र मसला कोसेली लगि दिन्थे । उनीहरु अति खुशी हुन्थे ।
त्यसै क्रममा मैले जीवनमा पहिलोपल्ट हिउँ देखेको हो । यसैक्रममा चौरीगोठ
र खर्कको यात्रा पनि गरे । तोङबाको पीपा (पिप्सिङ) बनाउने सानो निगालोको
सुइरो काट्न जाँदा हिउँको भासमा पुरिएर झण्डै मरेको । उसो त करिव दस
महिनाको बसाइमा जम्मा जम्मी आठ–दश चोटी मात्र नुहाएँ होला मैले । स्थानीय
भाषा पनि राम्रैसँग बुझ्न सक्ने भएको थिएँ । अहिले पनि त्यो भाषामा सामान्य
वार्तालाप गर्न सक्छु । नेपालका अन्य हिमाली जातीहरुले बोल्ने तामाङ,
गुरुङ, शेर्पा, थकाली र यो भाषा पनि भोटवर्मेली उपसमुह अन्तर्गत पर्दछन् ।
हालै स्थानीय शिक्षक सोक्ते भोटेसंग मेरो भेट भयो । हाल त्यस गाउँमा १८
घरधुरी माात्र रहेछन् । जम्मा जनसंख्या ९९ जसमध्ये २१ जना जति ५ वर्ष
मुनिका र तर करिब ११ जना मात्र विद्यालयमा भर्ना भएका । बाँकी घर वा
चौंरीगोठमा बस्छन् तर पढ्न जाँदैनन् ।
आजका दिनसम्म आइपुग्दा, त्यसबेलाका ति म भन्दा ठुला मेरा बिद्यार्थीहरु
मध्ये कोही शिक्षक, कोहि स्थानीय निकायमा प्राविधिक सेवामा कार्यरत रहेको
सुनेको छु । शान्ती क्षेत्र प्राथमिक विद्यालयको नाममा स्थापित सो विद्यालय
आज सम्म सञ्चालित छन् । तर त्यसको अवस्था जर्जर रहेको जानकारी भयो । यस
कुराले म भित्रै देखि गौरवान्वित हुन्छु । म चाँडै जाँदैछु फेरि पावाखोलामा
। त्यो गाउँका मान्छेले फेरि एकपटक आफ्नो आचुङ्मा सरलाई भेटनेछन् ।
यो समयको पनि माग हो । एसइइ त गयो । हिजो कस्तो कष्ट गरेर पास गरेको
एसएलसी नाम फेरीएर एसइइ भएको थियो । म आफु यस्ता परम्परागत परिक्षा
प्रणालीमा खासै विश्वास पनि नगर्ने मान्छे हुँ तर अवको परिक्षा नीति र
अभ्यास के हुने ? पुरानै विधिमा अभ्यस्त हाम्रा शिक्षण संस्था, शिक्षक र
विधार्थीलाई कस्तो लाग्ला त्यो त हेर्न बाँकी नै छ ।