Monday, November 1, 2021

मैले देखेको पशुपती आर्यघाट

मलाई यो वर्ष पटक पटक आर्यघाट जाने बाध्यता भयो । आफन्तजनहरुको देहवसान र अन्तिम सँस्कारका लागि जानु पर्ने गन्तब्य मध्ये बौद्ध र स्वयँम्भु बाहेक एक आर्यघाट पनि हो । मैले कहिले दिनमा त कहिले मध्यरात सम्म पनि त्यहाँको चिसो सिरेटोमा जल्दै गरेको लास हेरेँको छु । पटक पटक त्यहाँ गए पछि मेरा मनमा धेरै कुराहरु खेले । मानव जीवनको एक मात्र अन्तिम सत्य मृत्यु नै हो । एकदिन हरेक मान्छेले खाली हात यो धर्तीबाट विदा लिनै पर्छ । हामीलाई चाहिने अन्तिम सवारी साधान हरियो बाँसको खट मात्र हो । आर्यघाटको नियमित कर्म शुरुमा मृतकको नाम दर्ताबाट शुरु हुन्छ । त्यसपछि आवश्यक सरसामान, कर्मचारी सहित एउटा चिता तोकिन्छ । हिन्दु परम्परा अनुसार ब्रम्हनाल लगायत नियमित कर्मकाण्ड गरी सकेपछि लासलाई चितामा राखी आगोमा जलाइ नष्ट गरिन्छ । अन्तिममा बाँकि रहेको सानो अस्तुधातु पनि वागमतीमा विसर्जन गरेर आगो टेकी मलामीहरु घर फर्कन्छन् । अन्य विभिन्न जाती, क्षेत्र र साँस्कृतिक समूदायहरुका मृत्यु सँस्कारमा विविधता पाइन्छ । जस्तै, तिब्बती र नेपालका उच्च हिमाली भेगमा लासलाई काटेर गिद्धलाई खुवाउने वा अन्य क्षेत्रमा जमिनमा गाड्ने जस्ता सवदाहका अन्य तरिकाहरु पनि प्रचलित छन् । श्लेस्मान्तक वनतिर किराँती तथा अन्य धर्मावलम्बीहरुका लागि पनि सवदाहका लागि निर्धारित स्थान तोकिएको छ । जे जसरी दाहसँस्कार गरेपनि एक मुठि प्राण सकिएपछि सबैको जानेबाटो त एउटै रहेछ ।
ऐतिहाँसिक कालदेखि नै यहाँ अत्येष्टी गर्दा पितृको स्वर्गमा बास हुने विश्वास एकातिर छ । तर हरेक दिन आर्यघाटमा जल्ने मृतकका लासहरुको धुँवा र प्रयोग हुने काठ दाउरा, खरपराल, वागमती नदिमा फालिने कोइला र अन्य सरसामानको कारणबाट सृजना हुने नदि, हावा र वातावरण प्रदुशषणको हेक्का राख्नै पर्छ । हालै निर्मित विधुतीय सबदाह गृह [Electric Crematorium] वातावरणीय हिसाबले उचित भएपनि केहि समय बन्द भएको थियो । तर हालै यो संचालनमा आएको रहेछ । यसै क्रममा अर्को नयाँ कुरा पनि थाहा भयो । यदि कुनै दिन यहाँको घाटमा कुनै लास जलेन भने माछा वा सिद्रा पोलेर भए पनि महादेवलाई वास्ना दिनुपर्ने भन्ने मौखिक कहावत र जनविश्वास पनि रहेछ । पशुपतीनाथ सँसारका हिन्दुहरुको लागि अति पवित्र तीर्थस्थल हो । यहाँ दैनिक रुपमा पाठपूजा, धार्मिक कर्मकाण्ड, आरधना र साँझमा नियमित आरती पनि गरिन्छ । बेलाबेलामा पर्ने विशेष धार्मिक चाडपर्व र विदेशी तीर्थयात्रीका आगमनका बेलामा भने थप भिडभाड हुन्छ । तर पशुपती परिसरमा विविध ब्यवस्थापकिय कठिनाइ पनि छन् । सरसफाइ र वातावरणीय प्रदुषणको पाटो उतिकै पेचिलो छ । फोहरमैला ब्यवस्थापन, चर्पी, पानी, सवारी पार्किङ्गमा चुनौतीहरु जिउँदै छन् । शान्ती सुरक्षाका लागि प्रहरी प्रशासन र स्वयम्सेवी सँस्थाहरु पनि लागेकै छन् । नजिकैका टहरोहरुमा बेपर्वाह सुतेका घरपरिवार विहिन मानिसहरु देख्दा मन नकुँडिने को होला । त्यहाँ पैसा माग्ने मगन्ते र साधुजोगीहरु पनि यत्रतत्र भेटिन्छन । लागुऔषध दूब्र्यसनी र सडक वालवालिकाहरुका बारेमा पनि हामी मौन रहन सकिन्न । तर आर्यघाटले फूलमाला, प्रसाद, अन्य सामाग्री, बोतलबन्द पानी र चिया ब्यापारी तथा कर्मकाण्ड गर्ने पण्डित पूजारीहरुको लागि जिविकाको अवसर समेत दिएको छ । यहाँस्थित पशुपती क्षेत्र विकास कोेषको कार्यालय, त्यहाँ कार्यरत थाइ अस्थाइ कर्मचारी र प्रशासकहरु साथै चुलिँदै गएको सेवा शुल्क, आकल झुकल भएका चोरी चकारी र अपराधका घटनाहरु पनि मनन योग्य छन् । पशुपती क्षेत्र विगतदेखि राज्यसत्ता र राजामहाराजाहरुले सँरक्षण गरेको धार्मीक स्थल हो । यहाँ हाल सम्मै पनि राज्यको ढुकुटी दोहन हुने गरेको छ । समय समयमा पद, श्रोत र अन्य लाभका लागि राजनीति पनि भएको छ । तर हिजो सम्म केवल हिन्दु मात्रको लागि प्रवेश भन्ने जस्तो नियम अब्यवहारिक थियो । यदि यो कायम भए हालको धर्मनिरपेक्ष नेपालको सन्दर्भमा भने यो सरासर कानूनसँग बाझिएको छ । पशुपतीनाथको मन्दिरमा हालै करोडौं मूल्य बराबरको जलहारी राख्ने योजना विवादित भएको छ । वागमती क्षेत्रको विकास तथा सुधार गर्ने नाममा संचालित परियोजनाहरुको नाममा हुने राजनैतिक खिचातानी र भ्रष्टाचारको लहरो पनि यहिँ अड्किएको छ । अन्ततः हामी यस धर्तीका २ दिनका पाहुना हौ, एकदिन सबैले यहि बाटो खाली हात जानै पर्छ । तसर्थ अनावश्यक लोभ लालच, पाप र अधर्म नगरौं । अन्य नागरिक लगायत सँसारका सबै प्राणीहरुलाई घृणा होइन माया गरौ । हाँसो खुशी, ममता, प्रेम र सद्भावले बाँचौ । मृतकका आत्माहरुले शान्ती पाउन । ---- भैँसेपाटी, ललितपुर, २०७८ कात्तिक १८

दाङको गर्मी र रोल्पाको जाडो [डा. सुरेश तामाङ] DANG & ROLPA TRAVEL MEMORY

मध्ये वर्खाको समयको यात्रा खतरा भएता पनि रोमान्चक भयो । पश्चिम तराइको दाङ तथा रोल्पाको लागि हामी रवाना भयौं । एतिको विमानबाट भैरहवा ओर्लनासा...